यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Saturday, July 2, 2011

गैडाल्याण्ड - जिन्दाबाद (२)

गैडा माथी लगातार आक्रमण भएको देखि यसबारे छलफल गर्न भर्खरै मानब बस्ती हटाएको पदमपुरमा "राष्ट्रिय गैडा सम्मेलन" गरे । गैंडा माथीको आक्रमण र हिंसा नरोके गैडा बिद्रोहमा जाने कार्यनिती सहित पदमपुर घोषणापत्र पारित गरियो । यसको साथै गैडाहरुको रक्षाको लागि राज्य संयन्त्रमा भर नपर्ने भन्दै गैडा फोर्स गठन गर्ने पनि निर्णय गरे । बन्यजन्तु संरक्षणमा लागेका डब्लु डब्लु एफ, प्रकृति संरक्षण कोष आदिले यसरी बिद्रोहमा गए संरक्षणतन्त्र संस्थागत नहुने भन्दै शान्ति प्रति प्रतिबद्ध हुन र अरु जनवारको पनि अस्तित्व स्वीकार गर्न आग्रह गरे । तै पनि पदमपुर सम्मेलनले तय गरेको कार्यदिशा अन्तर्गत भर्खरै सौराहाको होटेलको सेफ्टी ट्यान्कबाट सकुशल निस्कन सफल "गर्दने" को संयोजकत्वमा "गैडा फोर्स" को गठन गरियो । उनिहरुले पर्यटक ओसार्न सिमापारिबाट ल्याएका हात्तीलाई प्रमुख शत्रु घोषणा गरे र "गैडा सर्बोच्चता" को लागि मुख्य बाधक ठहर्याये ।

हात्तीको बल र जिउको आकार देखि सिधै आक्रमण गर्नु आँफैलाई नै घातक हुने फोर्सले ठहर गर्यो । बरु यसको साटो पर्यटकमाथी आक्रमण गर्ने र पर्यटक नै नभएपछि काम नपाएर हात्ती आफै फर्कनु पर्ने स्थिति सिर्जना हुने ठहर गरि धमाधम पर्यटक माथी आक्रमण गर्न थाले । यसरी भएको सांघातिक आक्रमणमा गैडा फोर्सले उल्लेखनिय योगदान पुर्यायो । अनमिन र अधिकारबादीहरुले यस्तो घटनाको निन्दा गरे र मोर्चालाई शान्ति प्रति प्रतिबद्ध हुन आग्रह गरे । यसरी भौतिक कारबाही गर्ने मोर्चाको कुनै निति नभएको र कार्यकर्ताहरुबाट यस्तो भएको रहेछ भने छानबिन गर्ने मोर्चा प्रमुख केटोले अनमिनलाई आस्वस्त तुल्यायो । तै पनि फोर्सले फाट्ट फुट्ट पर्यटक र ब्यबसायीहरु माथी आक्रमण गरिनै रह्यो । ब्यबसायीहरुले लगानीको बाताबरण नभएको भन्दै त्यहाबाट लगानी झिक्ने चेतावनी दिन थाले ।

जंगल भित्र कुनै ब्यबसायिका हात्तीहरु सजिलै पर्यटक लिएर आवत जावत गर्ने भने कसैको छिर्ने बित्तिकै आक्रमण हुने घटनाक्रम बढे पछि फोर्सको अध्यक्ष हुन दावा गरेको जख्खुले गर्दने को चियो गर्न थाल्यो । फोर्सको अध्यक्षले केही ब्यबसायीसग साठगाठ बढाइ अकुत सम्पत्ति कमाएको , इतर पक्ष माथी शिकारी लगाइ हमला गरेको लगायतको आरोप लगाइ कारबाही गर्न मोर्चा संयोजक सामु जख्खु पक्षले आवाज उठायो । जख्खु पक्ष पनि अन्य ब्यबसायी सग भित्र भित्रै साठगाठ गरि अन्य मार्गबाट उनिहरुको हात्ती जंगल भित्र छिराउने सहज बाताबरण बनाउन थाले । फेरि गैडाल्याण्डमा बिदेशी हात्तीहरुको बिगबिगी बढ्न थाल्यो । फोर्सको क्रियाकलाप प्रति असन्तुष्ट मोर्चाका सदस्यहरु बिशेष गरि सौराहा भन्दा बाहिर बस्नेहरुले मोर्चा कमाण्डर केटोलाई यस्तो क्रियकलाप रोक्न दबाब दिए । केटोले ती गैडाहरुलाई हुन्छ भने झै गरि टाउको हल्लाएर बिदा गर्यो ।

हात्ती आफैमा महङ्गो , त्यसमाथी गैडाहरुको बिरोधको कारण केही ब्यबसायी हरुले पर्यटक घुमाउन उट भित्र्याउन थाले । मोर्चा प्रमुखले यसलाई सकरात्मक रुपमा लियो । सौराहा क्षेत्र भन्द्रा टाढा बस्ने गैडाहरुले दुबै बिदेशी हुन, हामि माथी उत्तिकै प्रभाब पर्छन यसकारण त्यस्ता जनावारहरु प्रति समान धारणा बनाउनु पर्छ भने । तर केटोको तर्क थियो - उट जङगलमा छिर्दैन र हाम्रो बासस्थान पनि प्रयोग गर्दैन त्यसकारण उस्को उपस्थितीले हात्तीको एकाधिकारलाई सन्तुलनमा ल्याउछ । यता जैबिक बिबिधतामा सरोकार राख्ने केही देशहरुले हात्ती त जहाँको भए नी उसको नातागोता त गैडाल्याण्डकै बासिन्दा हो तर उट रितीथिती केही मिल्दैन । यसले उल्टै संक्रमण बढाउछ भनेर बिरोध गर्न थाले । तर मोर्चाले सन्तुलित निति अख्तियर गर्ने भन्दै हात्ती र उटलाई समान द्रिष्टिकोण बनायो ।

गैडा हित बिरोधी फोर्सका पदाधिकारीले काम गरेको , ब्यापरी सग साठगाठ गरि अकुत सम्पत्ति कमाएको फेहरिस्त साथ "गैडा टाइम्स" मा समाचार आयो । भोलिपल्टै सम्बाददाता माथी सांघातिक आक्रमण गरियो । फोर्सको तान्डब अगाडी केटो पनि मौन रह्यो । यहि भद्रगोलको बीच फेरि शिकारीले मौका पायो । कहीले गर्दने पक्षले आक्रमण गरेको षडयन्त्रमा जख्खु पक्षलाई , कहीले जख्खौ पक्षले आक्रमण गरेको बहानामा गर्दने पक्षलाई शिकार बनाउन थाल्यो । गैडाल्याण्डको नवलपरासी र माडि क्षेत्रमा बस्ने गैडाहरु बाघवान (बर्दिया) र बार्हसिङ्घे प्रदेश (शुक्लाफाट) मा बसाइ सर्नको लागि तारतम्य मिलाउन थाले । कतिले त्यहा पनि त्यहि स्थिति आउने भन्दै सिमापारी जाने सोच बनाए । बाँच्न सफलहरु बिस्तारै बिस्थापित हुँदै गए । कतिले रापतिमा पौडिएर जहाँ पनि भुर्र उड्न सक्ने पानि हासहरुको बथान हेर्दै आफूलाई धिक्कार्न थाले ।

सौराहामा दोषारोपण चल्दै थियो । हात्तीलाई सन्तुलन गर्छ भनेर प्रबर्धन गरिएको उटबाट नयाँ रोग देखा पर्यो । सारा गैडाल्याण्डमा त्यसको बिग बिगी छायो । सौराहा क्षेत्रमा कति गैडा लगायत हात्तीहरु पनि मरे । मानब राज्य सत्ताले गैडाल्याण्डमा संकटकालिन अवस्थाको घोषणा गर्यो । गैडाहरुको उपयुक्त बासस्थान ठानी बचेका गैडाहरुलाई बाघवान बर्दियामा सार्ने निर्णय गर्यो । गैडाल्याण्ड बाट बिस्थापित भएर बाघवान पुगेका बाघहरुले गैडाहरुलाई बासदिन हुन्न भनेर त्यहाको राज्य सरकारलाई दबाब दिन थाल्यो । बाघवान राज्य सरकारको सहयोग बिना गैडा सार्ने काम संभब हुन सकेन । गैडाल्याण्डलाई सुरक्षित बनाउन त्यहा बाट बिदेशी जनावारहरु हटाइयो । अर्नापुरीमा अर्ना झै औंलामा गन्न सकिने अबस्थामा रहेका गैडाहरुको सुरक्षा गर्न मानब राज्यसत्ताले प्रत्येक गैडालाई हतियारधारी सुरक्षाकर्मीको ब्यब्स्था गर्यो ।

1 comment:

  1. धन्यवाद छ राजेश दाई. बुझनेलाइ श्रीखंड नबुझनेलाइ खुर्र्पा को बिड.

    ReplyDelete