अन्तरे,
तिम्रो रहरको शहर बाट
महामारिको कहर सगै
आराम रही आरामको कामना गर्दै
यो चिट्ठी कोरी रहेछु ।
तिमीलाई लाग्थ्यो -
ति गगनचुम्बी महलको बसाइ
वातानुकुलित कोठाको सजावट
कतै स्वर्गको टुक्रा पो
झर्यो कि ,
के गर्ने अन्तरे
आज,
त्यही टुक्रा भित्र
खुल्ला आकाशमा सास फेर्ने
आशामा
कोरोनाको मृत्यु पर्खदै
स्वकैदी जिबन बिताइ रहेछु
,
अन्तरे,
टन्टलापुर घाममा
टोक्माको आडमा भारी
बिसाउदै
नाम्लोको डाम लागेको
टोपिले
पसिना पुछ्दै
कती आफ्नो कर्मलाई
धिक्कार्थेउ
पढ्ने बेला बराललिदै
हिंडे भन्दै
झोक निकालेर मान्के गोरु चुट्थेउ
अहिले निस्फिक्री
तिमी धन्सारबाट
आफ्नै उब्जाउ झिकेर खाइ
रहदा
यता,
दाल चामल पाउने कि नपाउने
सन्त्रासमा
भाईरस होकी जस्तो
लाग्नेहरु सगै
लाइनमा उभिरहदा
बाझो खेत सम्झेर टाउको
ठोकीरहेछु ।
अन्तरे,
मिल्ने भए अहिले
उडेर त्यो पिपलबोटे
चौतारीमा बस्थे
लकडाउनको सिमाले नछोएको
देउरालीको उकाली ओराली
किन्थे
अझ
यही पल
तिम्रो त्यो भकारी
एक्स्प्रेस सेवा मार्फत डेलिभरी
माग्थे .
अन्तरे,
यो जहरिलो अवस्थाले
आफ्नो औकात् सम्झाइदियो
हामीले उम्दा मानेको
प्रबिधिको धोती
फुस्काइदियो
यो भुमरी बाट पार पाइये
अब आउने रोपाइमा
तिमी सगै
दादे र लिड्को लगाउन नसके
पनि
बाउसेको लागि आउनेछु
एउटा फालीलाइ
बिड बनाइ राख है
झर्काको डबकामा
मकैको जाड र फिलुङ्गेको
अचार्
अनि
हाडिमा भुटेको मकै
खाजाको मेनु नबिर्सें है
।
२०७६ चैत्र ११ गते
बैङ्कक, थाइल्याण्ड
No comments:
Post a Comment