यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Monday, December 29, 2014

बाताबरण संरक्षण समितिका सदस्य सभासदहरुलाई खुल्ला पत्र

श्री माननीय सभासद ज्यु हरु ,
बाताबरण संरक्षण समिति,

संसदको बाताबरण संरक्षण समितिले  बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रमलाइ रुख कटानीको नाम दिई उक्त कार्यक्रम रोक्न दिएको निर्देशनले म जस्ता बन विज्ञानका बिध्यार्थिहरुलाई आश्चर्य चकित पारेको छ । चार वर्ष अगाडी बन विभागले रुपन्देही जिल्लामा बैज्ञानिक बन ब्यबस्थापन गर्दा बन प्राबिधिकहरु जति उत्साहित थिए, आज यो कार्यक्रम रोक्न दिएको निर्देशनले त्यतिकै मर्माहत भएका छन् । यो निर्णयले बन ब्यबथापनामा भै रहेको प्रगतिलाई ठप्प पार्नुको साथै स्थानीय र रास्ट्रीय अर्थतन्त्रमा पनि नकारात्मक असर पार्ने कुराको अबगत गराउन चाहन्छु ।


माननीय सभासद ज्यु हरु , हामी बन विज्ञानका बिध्यार्थिहरुले पढेको पहिलो पाठ भनेको  “बन श्रोत” नबिकरणीय प्राकृतिक श्रोत हो । नबिकरणीयको अर्थ यसको प्रयोग भएपछी पनि पुनरुत्पादन हुनु हो  । यसकारण बन श्रोत प्रयोग गरे पछी नासिएर जादैन, यो त उचीत संरक्षण र सम्बर्धन पाएमा अझ जिबन्त भएर फैलिदै जान्छ । तर हामीसग बिगतका बन बिनाशका तिता अनुभबहरू पनि  छन्  । सरकार आफैले नियन्त्रण गर्न नसकेर समुदायलाई जिम्मा लगाउन थालेको तीन दशक बिती सक्यो, तर पनि बन बिनाश र बनका हैसियत बिग्रिने प्रक्रिया निरन्तर चली नै रह्यो ।

 

यहि बिचमा धेरै प्रश्नहरु बन प्राबिधिक सामु तेर्सिए  ।  बन सगै सुन्दर भविष्यको कल्पना साचेर संरक्षणमा जुटेका ग्रामिण समुदायमा बनले आशातित भूमिका खेल्न सकेन, किन ? देशको ४० प्रतिशत भूभाग ओगटेको बन क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा तीन प्रतिशत मात्र हिस्सा ओगट्छ, किन ? बन क्षेत्रहरु धमाधम खेत बारीमा परिणत हुन्छन, किन ? ठिंग उभिएका तर भित्र भित्रै खोक्रिएका मुल्यहीन रुखहरु देखेर समाचार बन्न थालेको थियो “ह्युम पाइपका जंगल” । यी सार्बजनिक सवालहरूले  तमाम बन प्राविधिकहरुको मनमा आफ्नै लागि अर्को प्रश्न उब्जाएको थियो – के अहिले भै रहेको बन ब्यबस्थापनले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा आशातित योगदान पुर्याइरहेको छ त ?

 

बनको नापजाच गरी औशत बार्षिक वृद्धिदर भन्दा कम काट्ने पद्दति थियो, जुन अझै पनि सामुदायिक बनहरुमा प्रचलित नै छ  । अझ बुढा, सुकेका , रोग लागेकाहरु मात्र काट्नु पर्ने प्राबधान । यसबाट केहि मात्रामा स्थानीय स्तरमा बन पैदावारको आपूर्ति त भयो , तर यसले परम्परागत कृषि प्रणालीमा आधारित स्थानीय अर्थतन्त्रलाई समय सापेक्ष सुदृढ पार्न कुनै योगदान दिन सकेन । यहि कारण हुन सक्छ, आर्थिक लाभको लागि समुदायमा आधारित बनहरुमा पनि जथाभाबी रुख काटिने गतिबिधिको बढावा हुनु ।

 

माननीय सभासद ज्यु हरु , बन प्राबिधिकहरुलाइ सिकाइएको त्यहि थियो श्रोत तेती बेला सम्म श्रोत हुदैन जब सम्म यसले  मानब समाजको कल्याणमा प्रत्यक्ष भूमिका खेल्न सक्दैन  । हाम्रो बनलाई बन श्रोत बनाउने निर्बिकल्प उपाय थियो – बनको उत्पादकत्व बढाउनु । यसको लागि उचित बन सम्बर्धन प्रणालीको अबलम्बन गर्नु नै बन बिज्ञानको मुल मन्त्र हो ।  

“बन सम्बर्धन शास्त्र “ बन विज्ञानको मूल कडी हो , जुन बिरुवा हुर्काउने कला र बिज्ञान हो । कला यस अर्थमा कि यसले कुन सम्बर्धन प्रणाली लगाउदा बनको स्वरूप कस्तो हुन्छ भनेर परिकल्पना गर्दछ । अनि बिज्ञान यस अर्थमा कि यसले बिरुवा कहिले काट्ने, कति परिमाणमा कस्तो बन पैदावार उत्पादन गर्छ भन्ने जानकारी दिन्छ । अझ यसले प्राकृतिक पुनरुत्पादन गर्ने हो भने माउ बिरुवा कति को दुरीमा कतिवटा राख्ने भन्ने पनि निर्धारण गर्दछ ।

 

निर्बिबाद रुपमा भन्नु पर्दा अहिले बन पैदावारको  माग र आपूर्ति बीच ठुलो खाडल रहेको छ  । बढ्दो जनसंख्या र  शहरीकरणले बन पैदावारको मागलाई अझ बढाउनेमा कुनै बिबाद नहोला । अझ बन क्षेत्रमा अतिक्रमण बढिरहेको अबस्थामा परम्परागत बन ब्यबस्थापन प्रणालीलाई पछ्याउने हो भने बन पैदावारको आयातको आयतन अझै बढ्ने कुरालाई नकार्न सकिन्न । यहि अबस्थालाई विश्लेषण गर्दै विभिन्न बन समुहहरुले पृष्ठभूमिमा बन पैदावारको सतत आपूर्ति गर्न र भाबि पुस्तालाई अहिलेको भन्दा राम्रो अबस्थाको बन हस्तान्तरण गर्न बैज्ञानिक बन ब्यबस्थापनको कार्य शुरु गर्न जरुरि रहेको उल्लेख गरेका छन् । बैज्ञानिक बन ब्यबस्थापनले कुनै एउटा बन सम्बर्धन प्रणालीलाई आत्मसात गरेर बनको कार्ययोजना बनाएको हुन्छ ।

 

उदाहरणको लागि रुपन्देही जिल्लाको बाउन्नाकोटि सामुदायिक बनले टिक र सिसौको ६० हेक्टर बनको बैज्ञानिक ब्यबस्थापन गरेको छ । ३० बर्ष रुखको कटान उमेर निर्धारण गरि प्रति वर्ष २ हेक्टरमा सघन ब्यबस्थापन गर्ने योजना बनाएको छ । उक्त दुइ हेक्टर क्षेत्रमा भएको सघन ब्यबस्थापनबाट समुहले कुल आम्दानि ५२ लाख पचास हजार गरेको छ भने बन पैदावार संकलन , कटान, मुछान , घाटगद्दी सुरक्षा गर्न १५०३ दिन बराबरको रोजगारी सृजना भएको छ । खर्च कटाएर समुहले बचत गरेको ४२ लाख ८५ हजार बाट स्थानीय स्तरमा उध्योग ब्यबसाय संचालन गरि रोजगारी सृजना गर्ने धेरै अवसर छ । यसकारण बैज्ञानिक बन ब्यबस्थापन गर्दा ६० हेक्टर बनले गर्ने आम्दानी प्रति वर्ष तिन जना  माननीय महोदयहरुको संसद बिकाश कोषको रकम बराबर हुन जानेछ ।

लेखाजोखा गरौत माननीयहरु , संरक्षित क्षेत्र भन्दा बाहिर रहेका तराइको ३१४,६६० हेक्टर बन क्षेत्रमा बैज्ञानिक बन ब्यबस्थापन प्रणाली अपनायौ भने कति आम्दानि र कति रोजगारी सृजना हुनेछ । माननीय ज्युहरुको टाउको दुखाइ भएको रोजगारी सृजना गर्ने तथा राजस्व बढाउने मुद्दाहरु त बनको बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रमले पुरा गर्दैछ ।

 

माननीय महोदायहरु , बन ब्यबस्थापन प्रणाली  भनेको प्रबिधि हो जसले बनको हैसियत सुधार गरी उत्पादन बढाउछ । मासिने भन्ने कुरा त सुशासनका पाटा हुन् । सुशासन कायम गर्न नसक्दा अस्ति  बन्दुकको घेरा भित्रको बन पनि नासिएको थियो , बार्षिक वृद्धिदर भन्दा कम निकाल्दा पनि लोभी मन हुनेहरुले रुख सुकाएर भएपनि ढालेकै थिए , आज बैज्ञानिक बन ब्यबस्थापन नगर भन्दा अनुकरनिय कार्य गरेका समुदायहरुमा पनि नकारात्मक प्रभाब पर्ने छ । यसकारण बन ब्यबस्थापन प्रणाली  र सुशासनलाई एकै ठाउमा मिसाई बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम रोक्ने अवैज्ञानिक निर्णय फिर्ता लिन बिनम्र आग्रह गर्दछु माननीय महोदयहरु ।

 

धन्यबाद

सम्पूर्ण बन प्राबिधिक हरुको तर्फबाट

 

डा. राजेश राई