जब,
घात प्रतिघातको ताप बढ्दै जान्छ
बिश्वासको सगरमाथाहरु पग्लन थाल्छन ,
अनि
आस्थाका नदीहरु कहिले उर्लिएर आउछन,
कहिले, सुकेर थन्किन्छन
सुक्ने क्रममा
आफु हिड्ने बाटो चरक्क चर्काउछन
उर्लिने क्रममा
न त देउताको मन्दिरले
छेक्छ,
नत अजङ्गको पहाड नै देख्छ
न त आफ़ुसगै लिएर गएका
चिजहरुको फेहरिस्त बहिखातामा लेख्छ ,
माटो र जराहरुको अन्तरंग सम्बन्ध
एकै छिनमा भताभुङ्ग परिदिन्छ,
पहाड र मधेश केहि
केहि नभनी
एकै नाशले उफ्रिदिन्छ,
त्यसैले,
घात गर्नेहरु
हो होशियार
तिम्रा
पहाडहरु बग्न सक्छन
तिम्रा
तराइहरु पुरिन सक्छन
दुखेको
मन बग्नलाइ
कुनै मनसुन
कुर्न पर्दैन
तिम्रा
दुष्टताको पर्खाल भत्काउन
कुनै साइत
जुर्न पर्दैन,
ठगिएका
मनहरु जता पनि बगिदिन्छन
बाटोमा
जे जे आउछन आफ़ुसगै लगिदिन्छन
No comments:
Post a Comment